Kathmandu Press

अब लगानीकर्ताले ब्रोकर कम्पनीबाटै ऋण लिएर सेयर किन्न पाउने

काठमाडौं, फागुन १७ :  अव सेयर लगानीकर्ताले ब्रोकर कम्पनीबाटै ऋण लिएर लगानी गर्न पाउने भएका छन् । लामो समयदेखि चर्चामा रहेको मार्जिन कारोबारका लाग....

अब लगानीकर्ताले ब्रोकर कम्पनीबाटै ऋण लिएर सेयर किन्न पाउने

काठमाडौं, फागुन १७ :  अव सेयर लगानीकर्ताले ब्रोकर कम्पनीबाटै ऋण लिएर लगानी गर्न पाउने भएका छन् । लामो समयदेखि चर्चामा रहेको मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीसँग आवेदन माग गरेसंगै सेयर धितो राखेर ब्रोकर कम्पनीबाट ऋण लिने व्यवस्था कार्यन्वयनमा आउने भएको हो । 

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधि,२०७५ लागु गर्दै मंगलबार आवेदन माग गरेको छ ।   यो व्यवस्थासंगै आफूले किन्न चाहेको कम्पनीको सेयरकै धितोमा लगानीकर्ताले ब्रोकर कम्पनीबाट ऋण लिएर सेयरमा लगानी गर्न सक्नेछन । यसका लागि तोकिएको मापदण्ड, विधि र प्रक्रिया लगानीकर्ताले पालना गर्नुपर्ने हुन्छ ।  

उक्त प्रक्रियाको नेपाल धितोपत्र बोर्डले नियमन गर्ने छ । उक्त व्यवस्था नेप्सेले आवेदन माग गरेकाले ईच्छुक दलाल व्यवसायीले तोकेको मापदण्ड अनुसार आवेदन दिनुपर्ने हुन्छ । ऋणको ब्याजदर पनि ब्रोकर र नेप्सेले निर्धारण गर्न सक्ने छन् । 

नेप्सेका अनुसार ब्रोकर कम्पनीले मार्जिन सेवा दिन अन्य निकायसँग अनुमति लिनुपर्दैन् ।  कार्यविधिले तोकेको मापदण्ड बमोजिम आवेदन दिएका ब्रोकरलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवा सुरु गर्न पाउनेछन् । 

सेयर धितोमा ऋण कसरी पाईन्छ ? 
यस्तो सुविधा प्रदान गर्दा लगानीकर्ताले सेयर मूल्यको निश्चित प्रतिशत रकम लगानीकर्ता आफैले अग्रिम भुक्तानी गर्नुपर्नेछ । बाँकी रकम ब्रोकर कम्पनीले सापटी दिन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी नगरेसम्म उक्त सेयर रोक्का रहन्छ वा ब्रोकरकै अधिनमा रहन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी गरेपछि मात्र सेयरधनीको खातामा सेयर स्थानान्तरण हुन्छ । 

लगानीकर्ताले सूचीकृत सबै कम्पनीहरुको सेयर किन्न यस्तो सुविधा पाउने छैनन । यो सुविधाका लागि तोकिएका कम्पनीहरु मात्र छनौट गर्ने पर्ने कार्यविधि उल्लेख छ । जसमध्ये सूचीकृत कम्पनीमा कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

उल्लिखित मापदण्डका आधारमा नेप्सेले योग्य कम्पनीको सूची प्रकाशित गर्नुपर्ने छ । सदस्य व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय ८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मुल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउँने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिन को रुपमा लिनुपर्नेछ । 

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखि ब्रोकर कम्पनीले ५० प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने सुविधा पनि दिइएको छ । ब्रोकरले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन दैनिक रुपमा गणना गर्नुपर्नेछ । 

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशत भन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्न सक्नेछ । 
 

प्रकाशित मिति: १०:४० बजे, शनिबार, फागुन १८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्