दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ।काठमाडौं, मंसिर १७ : चर्चित निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म ‘महाभोज’ बन्ने भएको छ। पछिल्लो पटक ‘पुजार सार्की’ निर्देशन गरेको उनको यो आठौैं फिल्म हो।
निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकांक्षी फिल्म घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन्।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ।
यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता फिल्म निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन्। फिल्म निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन्।
राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरूविरुद्धको विद्रोही अभियान रहेको बताएका छन्। ‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ,’ निर्देशक राउतले भने।
विकास सुवेदीले लेखेको फिल्म माघ १ गतेदेखि छायांकनमा जाने छ। फिल्मलाई आर.आर. फिल्म्सले वितरण गर्नेछ।