Kathmandu Press

बलिदानको छायाकंन अन्तिम चरणमा

शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाकंन सुरु गरिएको छ।
बलिदानको छायाकंन अन्तिम चरणमा

काठमाडाैं, मंसिर ७ : दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै फिल्म ‘बलिदान’ छायांकनको अन्तिम चरणमा प्रवेश गरेको छ। 

शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाकंन सुरु गरिएको छ। चाडपर्वका कारण रोकिएको छायांकन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ।

गत भदौमा छायाकंन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन्। छायाकंनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन्।

फिल्मको प्रदर्शन मिति छायाकंन सकिएको भोलिपल्ट टिजरसहित घोषणा गर्ने बारे निर्देशक सेनले बताएका छन्। ‘रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ,’ उनले भने।

एक्सन प्रधान ‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक तथा स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ। 

आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माता रहेका छन्। 
 

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्