Kathmandu Press

परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जागरण सभा : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताएका छन्।
परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जागरण सभा : महासचिव पोखरेल

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजमा देखिएको अराजकतालाई निरुत्साहित गर्ने कर्तव्य प्रमुख राजनीतिक दलको रहेकाले सभाको आयोजना गर्न थालिएको बताए।

महासचिव पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको र त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे।

Hardik ivf

'जनता असन्तुष्ट छन् भन्ने खालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ, त्यो हिसाबले हामीले जागरणसभा गर्दैछौँ,' उनले भने।

महासचिव पोखरेलले  सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिने परम्परा विश्वव्यापी नै रहेको उल्लेख गरे।

'छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयंले भाषण गरेर हिँडदै गरेको देखिन्छ । सत्तापक्ष भनेको जनताका बीचमा जानै हुँदैन भन्ने होइन,' उनले भने, 'सत्तापक्ष पनि जनताका बीचमा जान्छ, आफ्नो दृष्टिकोण स्पष्ट पार्दछ। भ्रमहरूलाई चिर्दछ । जनतालाई आवश्वस्त बनाउँछ । निराशालाई आशामा बदल्छ।'

महासचिव पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि संयन्त्र बनाएको धारणा राखे।

'संयन्त्रले साझा धारणा बनाउने र सरकारलाई सुझाव प्रस्तुत गर्ने काम गर्छ । यसले सरकारको काममा हस्तक्षेप गर्ने होइन । सरकारको कामका लागि संयन्त्रले सहजीकरण र समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो,' उनले भने। 

अहिले मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको महासचिव पोखरेलको भनाइ थियो ।

'सरकारमा रहेका राजनीतिक दलको सामूहिक प्रतिबद्धता र प्रमुख राजनीतिक दलले राजनीतिक स्थायित्व खोज्ने जुन सङ्कल्प गरेका छन् त्यसले पनि मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको छ । अन्योलताको अवस्था एक हदसम्म अन्त्य भएको छ,' उनले भने।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकाले जनजागरणसभाको आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार सभाका लागि बिहान ११:३० बजे भद्रकालीबाट सुरु भई र्याली न्युरोड–रत्नपार्क–बागबजार–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी सभाआयोजना हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताविरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नका लागि जनजागरणसभा आयोजना गर्न थालिएको बताए।

उनले सभाले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्नेसमेत बताए।  

एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको मुख्य आयोजनामा यही मङ्सिर ७ गते जनजागरणसभा हुँदैछ ।

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्