प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन्।
सुदूरपश्चिम, कात्तिक ३० । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन्।
आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताए।
परराष्ट्रमन्त्री डा. राणाले भनिन्, 'नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।'
उनले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताइन्।
अर्को प्रसङ्गमा नेपाली कांग्रेसकी नेतृसमेत रहनुभएकी डा राणाले ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन्।
'देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरुको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो,' उनले भनिन्।
परराष्ट्रमन्त्री डा. राणा आफ्नो गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै आज डडेलधुरातर्फ गएकी छन् ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन्।












