विधेयकको चरणलाई समय सीमामा बाध्न गृहमन्त्री लेखकको प्रस्ताव
काठमाडौं, ३० कात्तिक : गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिला सुस्ती भएको भन्दै विधायनको चरणलाई समयमा बाँध्नुपर्ने प्रस्ताव गरेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो प्रस्ताव राखेका हुन्।
जुनसुकै विधेयक सदनमा निश्चित अवधिभित्र परिमार्जन गरेर फर्किएन भने मूल रुपमै फर्किने व्यवस्था रहेको भन्दै विधेयकको चरणलाई समय सीमामा बाँध्नुपर्ने गृहमन्त्री लेखकको भनाई छ।
गृहमन्त्री लेखकले भने–‘विधेयकका चरण हुन्छन्, सरकारी विधेयक सरकारले र गैरसरकारी विधेयकका हकमा माननीय सदस्यले विधेयक दर्ता गर्नुहुन्छ। त्यो विधेयक माननीय सदस्यलाई वितरण हुन्छ । त्यसपछि त्यो विधेयकमा विरोधको सूचना प्रस्तुत हुन्छ।’
विधयेकका चरणलाई समयमा नबाधेमा ठीक समयमा विधेयक अगाडि बढ्न नसक्ने गृहमन्त्री लेखकले बताए। उनले भने–‘हामीले हाउसलाई समयमा बाँधेका छौं। विधेयकको चरणलाई समयमा बाध्नुपर्छ भन्ने मलाई लागेको छ। विधेयकदर्ता भएपछि अनुमति माग्नु पर्ने, सैद्धान्तिक छलफल हुनुपर्ने, समितिमा पठाइ सक्नु पर्ने र समितिबाट प्रतिवेदन साथ यति दिन भित्र संसदमा आइ सक्नु पर्ने भनेर समय तोक्यौं।’
प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संशोधन गर्ने समिति बनाएर विधायनको चरणलाई समयबद्ध गर्न गृहमन्त्री लेखकको आग्रह छ।
गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग एने २०४८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा नीतिगत निर्णयबारे प्रष्ट पार्नुपर्नेमा समेत जोड दिए ।