बिरामीको चाप बढेसँग झापामा रगत अभाव
अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेका र हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको नेपाल रेडक्रस सोसाईटी झापाका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए।झापा, ३० कात्तिक : झापा जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको छ।
अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेका र हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको नेपाल रेडक्रस सोसाईटी झापाका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए।
दाहालका अनुसार क्यान्सर, एनिमिया, थालासेमिया लगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा जिल्लामा रगत धेरै खपत हुने गरेको छ। उनले भने–‘साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको छ, चाडपर्वका कारण कुनै संघ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन् अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ।’
जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो।
यस वर्ष एक सय ३७ वटा रक्तदान कार्यक्रम मार्फत पाँच हजार ५८ स्वयमसेवी रक्तदाताले रगत दान गरेका थिए । तर धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा विदेशिदा रगत संकलनमा कमी हुन थालेको छ।