Kathmandu Press

रविलाई राम्रै गरिदिन खोजेको थिएँ, सहकारीमा यत्रो गरेको छ भन्ने शंकासमेत थिएन: प्रधानमन्त्री ओली

'जब चाहियो भन्यो दिएँ, पार्टी खोल्छु भन्यो खोल बाबु भनेँ'
रविलाई राम्रै गरिदिन खोजेको थिएँ, सहकारीमा यत्रो गरेको छ भन्ने शंकासमेत थिएन: प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई आफूले सुरूवातदेखि नै राम्रो गरिदिन खोजेको बताएका छन्। 

बिहीबार कान्तिपुर कन्क्लेभको संवादका क्रममा प्रधानमन्त्री ओलीले रवि लामिछानेले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाउँदादेखि पार्टी खोल्दासम्म आफूले राम्रो गरिदिन खोजेको बताएका हुन्।

'रवि बाबु जबलेस भएर हिँडिरहेको बेला मकहाँ आउनुभयो। म अप्ठ्यारोमा छु मलाई कुनै जब दिन पर्‍यो भने।  के जानेको छ भनेर मैले सोधेँ। बोल्ने कला छ, पत्रकारिता गर्न सक्छु भन्यो,' प्रधानमन्त्री ओलीले भने। 

Hardik ivf

त्यसपछि आफैले एनटिभीमा सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम सिर्जना गर्न लगाएको र त्यसबापत पैसा पनि तिर्न नपर्ने गरी व्यवस्था गरिदिएको प्रधानमन्त्री ओलीले बताए। 

'बाबुकै लागि एउटा प्रोग्राम राख्छु भनेँ। सिधाकुरा प्रधानमन्त्रीसँग भन्ने टपिक्समा एउटा प्रोग्राम राख्छु। त्यसको पैसा पनि एनटिभीलाई तिर्नु पर्दैन त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जिविका चलाउ भनेपछि २/४ लाख, ५/१० लाख जिविका चलाउने बाटो त्यहाँबाट बन्यो,' प्रधानमन्त्री ओलीले भने। 

त्यही कार्यक्रमबाट रवि लामिछानेले कराउन सिकेको पनि प्रधानमन्त्री ओलीले बताए। 

'त्यसपछि म प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डजीले उहाँलाई निकालिदिनुभयो। न्युज २४ मा गएपछि उहाँले बसेर नबोल्ने उभिएर मच्चिमच्चि कराउन सिक्नुभयो। डेभलप गर्नुभयो। के-के केस लागे मेरो रूचीको विषय होइन । मैले राम्रै गरिदिन खोजेको थिएँ,' प्रधानमन्त्री ओलीले भने। 

'त्यसपछि पार्टी खोल्छु भन्नुभयो खोल बाबु भनेँ। मैले साथै दिएँ,' प्रधानमन्त्री ओली भन्दै गए। 

पार्टी खोल्दासम्म रविले सहकारीमा त्यत्रो गरेको भन्ने विषय आफूलाई थाहा नभएको पनि प्रधानमन्त्री ओलीले बताए। 

'विश्वास त आशंका पनि थिएन, साँच्चै। वासिङ मेसिनमा पनि तीन पटक धोएको जस्तो गर्छन्। कसरी ठान्ने मैले? मैले ठानिनँ। समिति  बनाउनुपर्छ भनेर संसदमा कुरा उठ्दा पनि यसरी अनुमानका भरमा समिति बनाउनु हुँदैन ।  केही कुरा उठ्यो भन्दैमा  एकजना व्यक्तिको रूपमा उठाउन हुँदैन भनेँ,' ओलीले भने। 

तर त्यतिबेला रवि आफै छानबिन समिति बनाउनका लागि तयार भएको ओलीले बताए।  

'रवि आफैले केही छैन बनाऔं भन्नुभयो। पब्लिकली पनि बोल्नुभयो र सर्वदलीय मिटिङमा पनि बोल्नुभयो। उहाँ चम्किनुभयो, प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै भन्नुहुन्छ भने बनाऔं भन्नुभयो,' ओलीले भने। 

त्यतिबेला पनि आफू सहमत नभएको प्रधानमन्त्री ओलीले बताए। 

'म त सहमत छैन, तैपनि तपाईंहरूले भन्नुहुन्छ भने समिति बनाऔं म मानिदिन्छु भने,' प्रधानमन्त्री ओलीले भने, 'समितिले त नामै तोकेरै भन्यो। जहाँ उहाँहरूको पार्टीको नेता पनि हुनुहुन्छ। सबै भएका ठाउँमा कारबाही गर्नू भनेर नाम तोकेर सिफारिस गर्‍यो त्यो प्रहरीमा गयो।'

अध्ययन भएपछि रविलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ने अवस्था अदालतले देखेको प्रधानमन्त्री ओलीले बताए। 

'उहाँलाई इन्क्वायरीका लागि त्यहाँ राखिएको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ, त्यसमा मैले गरेर सफाइ पाएको हुँदैन। पर्नुभयो भने पनि मैले गरेर परेको हुँदैन । उहाँको कर्मले गरेर परेको हुन्छ,' प्रधानमन्त्री ओलीले भने। 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्