Kathmandu Press

सुदूरपश्चिमको विकासका लागि रणनीतिक योजना अघि बढाउनुपर्छ : देउवा 

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका छन् । 
सुदूरपश्चिमको विकासका लागि रणनीतिक योजना अघि बढाउनुपर्छ : देउवा 

डडेल्धुरा, कात्तिक २९ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति, डडेल्धुराको विहीबार सम्पन्न बैठकमा प्रमुख अतिथि रहेका देउवाले उक्त भनाइ राखेका हुन् ।

सभापति देउवाले बैठकलाई संवोधन गर्नेक्रममा पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने भनाइ राखे । 

Hardik ivf

सभापति देउवाले सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने बताउँदै बैठकमा सहभागि नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको जानकारी पनि देउवाले दिए । जिल्ला कार्य समितिको बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे छलफल समेत भएको थियो ।

सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न जिल्लाका नेता कार्यकर्तालाई सभापति देउवाले निर्देशनसमेत दिए । कांग्रेसको नेतृत्वमा मुलुकमा लोकतन्त्र आएको स्मरण गराउँदै लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने पनि बताए । 

सभापति देउवा गत कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा पुगेका थिए ।

देउवाले यहाँ रहेका विभिन्न देवीदेवताको पूजाआजा समेत गरेका छन् । सभापति देउवा समक्ष डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले विभिन्न माग राख्दै योजना निर्माण गर्न मागपत्र बुझाएका छन् । 

सभापति देउवा बिहीबारै अजयमेरु गाउँपालिका–१ पुइलेक र २ को चमडामा पुगेर कार्यकर्तासँग भेटघाट गरेका छन् ।

भोलि शुक्रबार सभापति देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

गृह जिल्ला डडेल्धुरामा सभापति देउवाले अन्य कार्यक्रममा अतिरिक्त कांग्रेस कार्यकर्तालाई भेटघाटलाई समेत निरन्तरता दिएका छन् । 

 

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्