रूपन्देहीमा अझै सकिएन रवि लामिछानेको बयान, भोलि पुनः लिइने
रवि लामिछानेलाई सोध्न ७० वटा प्रश्नकाठमाडौं, कात्तिक २८ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका रवि लामिछाने बुधबार पनि रूपन्देहरी प्रहरीको हिरासतमै रहने भएका छन्।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रूपन्देही लगिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि बयान नसकिएपछि उनी रूपन्देही प्रहरीकै हिरासतमा रहने भएका हुन्।
बुधबार बिहान १० बजेदेखि पुनः लामिछानेको बयान लिन सुरू गरिएको थियो। लामिछानेसँग सोध्नका लागि सरकारी वकिलले ७० वटा जति प्रश्न तयार पारिएको थियो।
बेलुका ६ बजेसम्म बयान लिइँदा पनि नसकिएपछि भोलि पुनः बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले जनाएको छ।
बिहीबार बिहान १० बजेदेखि नै लामिछानेको बयान सुरू हुने बताइएको छ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरेको पनि आरोप छ।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय विशेष छानबिन समितिले औंल्याएको थियो।
सोही आरोपमा उनीविरूद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनलाई मंगलबार कास्कीबाट रूपन्देही पुर्याइएको थियो।
यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा उनी कात्तिक २ गते पक्राउ परेका थिए।
उनीविरूद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक दस दिनको म्याद थप गरेको छ। उनी २५ दिनदेखि हिरासतमा छन्।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने तयारी छ। त्यसका लागि उनको सबै सम्पत्ति रोक्का गर्न समेत प्रहरीले सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ।