कोरोना लागेका २२ लाखमध्ये ५ लाख ७५ हजार मानिस भए निको
काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण नरोकिए पनि बिरामी निको हुने क्रम पनि बढ्दै गएको छ। अहिलेसम्म करिब २५ प्रतिशत बिरामी निको भएर घर फर्केका छन्....

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण नरोकिए पनि बिरामी निको हुने क्रम पनि बढ्दै गएको छ। अहिलेसम्म करिब २५ प्रतिशत बिरामी निको भएर घर फर्केका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, शनिबार मध्याह्नसम्म संसारभर दुई सय १० देश तथा स्वशासित क्षेत्रमा कोरोना देखिएको छ। जहाँ २२ लाख ५८ हजार तीन सय ७८ जना बिरामी भएका छन्। जसमध्ये पाँच लाख ७५ हजार दुई सय ८५ जना निको भएर घर फर्केका छन्।
अहिलेसम्म कोरोनाबाट एक लाख ५४ हजार तीन सय ७१ जनाको ज्यान गएको छ। अझै ५७ हजार एक सय ३३ जना गम्भीर रहेका छन्।
अहिलेसम्म सबैभन्दा उपचार व्यवस्था जर्मनीमा देखिएको छ। जर्मनीमा सबैभन्दा बढी बिरामी निको भएका छन्। त्यहाँ बिरामी भएका एक लाख ४१ हजार तीन सय ९७ जनामध्ये ८३ हजार एक सय १४ जना निको भएर अस्पतालबाट घर फर्केका छन्।
त्यस्तै, ५३ हजार नौ सय ७१ जनाको उपचार भइरहेको छ। अहिलेसम्म जर्मनीमा चार हजार तीन सय ५२ जनाको ज्यान गएको छ।
सबैभन्दा बढी अमेरिकामा सात लाख १० हजार दुई सय ७२ जनाको बिरामी भएका छन्। त्यसमध्ये ३७ हजार एक सय ७५ जनाको मृत्यु भएको छ भने १३ हजार पाँच सय नौ जना गम्भीर रहेका छन्। त्यस्तै, ६३ हजार पाँच सय १० जना निको भएका छन्।
स्पेनमा एक लाख ९० हजार आठ सय ३९ जना बिरामी भएका छन भने २० हजार दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म ७४ हजार सात सय ९७ जना निको भएका छन्। इटालीमा एक लाख ७२ हजार चार सय ३४ जना बिरामी भएका छन भने २२ हजार सात सय ४५ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४२ हजार सात सय २७ जना निको भएका छन्।
फ्रान्समा एक लाख ४७ हजार नौ सय ६८ जनामा कोरोना देखिएको छ भने १८ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। ३४ हजार चार सय २० जना निको भएका छन भने ९४ हजार ६ सय ८८ जनाको उपचार भइरहेको छ।
त्यस्तै, बेलायतमा एक लाख आठ हजार ६ सय ९२ जना बिरामी भएका छन भने १४ हजार पाँच सय ७६ जनाको मृत्यु भएको छ।
चीनमा भने ८१ हजार सात सय १९ बिरामीमध्ये चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७७ हजार २९ जना निको भएका छन भने एक हजार ५८ जनाको उपचार भइरहेको छ।
छिमेकी भारतमा पनि संक्रमण बढ्दै गएको छ। शनिबार मध्याह्नसम्म १४ हजार चार सय २५ जना बिरामी भएका छन भने चार सय ८८ जनाको मृत्यु भएको छ।
नेपालमा भने आज मध्याह्नसम्म नयाँ संक्रमित देखिएका छैनन्। अहिलेसम्म ३० जनामा संक्रमण देखिएको छ भने एक जना निको भइसकेका छन्। कोरोना देखिएका २९ जनाको उपचार भइरहेको छ।











