Kathmandu Press

जलवायु जोखिमबाट जोगिन साझा कार्यक्रम बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गरेका छन्।
जलवायु जोखिमबाट जोगिन साझा कार्यक्रम बनाउन राष्ट्रपति पौडेलको आह्वान

बाकु, कात्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गरेका छन्।

अजरबैजानको बाकु सहरमा यही सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले बुधबार आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड डयामेज इन द हिमालय’ शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै पौडेलले उक्त आह्वान गरेका हुन्।

‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनारमाथि उठ्न सक्ने भएकोले आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु,’ राष्ट्रपति पौडेलले भने।

Hardik ivf

पौडेलले मुख्य गरी कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘बढी भन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९ औं जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ ।’

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको पौडेलको भनाइ थियो।

‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउमा राखेर छलफल गर्दा समस्याको वारेमा बुझ्न र समाधन गर्न पनि सहज हुने हाम्रो विश्वास हो,' उनले भने।  

सबैलाई आ–आफ्नो समस्या ठुलो लाग्नु स्वभाविकै रहे पनि पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौति निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

‘तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकी त्यस क्षेत्रमा मानवीय गतिविधि शुन्य नै थियो’, उनले भने ।

विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सय भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्व भन्दा बढीको हानी नोक्सानी भएको जानकारी पनि पौडेलले दिए ।

यस प्रकारको हानीनोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुवान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि जानकारी हुने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले संवोधनका क्रममा भने, ‘भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिवेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म  हो ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानिनोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नया समष्टिगत संख्यामातक लक्ष्यमा हानीनोक्सानी समेत समेट्न विशेष आव्हान गरे ।

कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन भएको हो । उक्त  अवसरमा वन तथा वातारण मन्त्री ऐनबहादुर शाहीले पनि स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु गएका हुन् । राष्ट्रपति पौडेललाई हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए ।

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्