धनराज गुरूङसँग सिआइबीले लियो ५ घन्टा बयान
उनीसँग पाँच घन्टा बयान लिएको सिआइबीका एक अधिकृतले जानकारी दिएका छन्।काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग बयान लिएको छ।
बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उपसभापति धनराज गुरूङले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता प्रकरणमा बयान लिएको हो।
उनीसँग पाँच घन्टा बयान लिएको सिआइबीका एक अधिकृतले जानकारी दिएका छन्।
दिउँसो १२ बजेदेखि ५ बजेसम्म गुरूङसँग सोधपुछ गरी बयान कागज गरिएको हो।
बयानका क्रममा उनले मितेरी सहकारीको बचत हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
गुरूङकी श्रीमती ज्योती गुरूङ उक्त सहकारीकी व्यवस्थापक थिइन्। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रूपैयाँ बचत अपचलन गरेको आरोप छ।
उपसभापति गुरूङले भने ज्योतिसँग सम्बन्धबिच्छेद भइसकेको बताउँदै आएका छन्। ज्योति हाल फरार छिन्।
उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भइसकेको छ।
सहकारी बचत अपचलनको छानबिन गर्न बनेको विशेष संसदीय समितिले पनि मितेरी सहकारीको बचत अपचलनबारे धनराज गुरूङमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सहकारी प्रकरणमै रवि लामिछाने पक्राउ परेपछि विपक्षी दलहरुले धनराज लगायतलाई संरक्षण गरेर रविलाई मात्र पक्राउ गर्नु राजनीतिक प्रतिशोध रहेको बताउँदै आएका थिए।