मानव तस्करको आरोपमा पक्राउ परेका अधिकारीलाई लगियो अदालत
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न अदालत लगिएको हो ।काठमाडौं, कात्तिक २७ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ ।
अधिकारी मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा आइतबार पक्राउ परेका थिए ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न अदालत लगिएको हो ।
अधिकारीलाई यसअघि दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।
उनीमाथि १० दिन हिरासतमा राख्न अनुमति माग गरिएको छ।
अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गत ११ कात्तिकमा जापान गएका बेला नारिता विमानस्थलमा समातिएका थिए।
त्यहाँ शंकास्पद लागेर उनलाई काठमाडौं नै डिपोर्ट गरिदिएको थियो।
उनीसँगै गएका अरू ६ जना भने यसअघि नै काठमाडौं प्रहरीको हिरासतमा छन्। उनीहरूले बयानमा जापान जानका निम्ति अधिकारीलाई लाखौं दिएको बताएका थिए।
उनीहरुकै बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको थियो।