Kathmandu Press

स्वतन्त्र न्यायपालिकाविरुद्ध कार्यकर्ता उछालेको आरोपमा रास्वपा सांसद र नेतामाथि अवहेलना मुद्दा 

अनुसन्धानमा रहेको बिषयमा जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप अवहेलना निवेदनमा छ। 
स्वतन्त्र न्यायपालिकाविरुद्ध कार्यकर्ता उछालेको आरोपमा रास्वपा सांसद र नेतामाथि अवहेलना मुद्दा 

काठमाडौं, कात्तिक २७ : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरा र बुटबलमा एकसाथ अनुसन्धान कारबाही चलिरहँदा केन्द्रीय नेता सांसदविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने भएको छ। 

अदालतका कामकारबाहीलाई दबाब र प्रभावमा पार्न धर्ना, जुलुस, नाराबाजीसहित आन्दोलनका गतिविधि गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासबाट आदेश भएको छ। 

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सांसद र नेतामाथि अवहेलनामा कारबाहीको माग राखेर अवहेलना मुद्दा दिएका हुन्। अनुसन्धानमा रहेको बिषयमा जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप अवहेलना निवेदनमा छ। 

अधिवक्ता भट्टराईले दिएको अवहेलना निवेदन सुरुमा सर्वोच्च प्रशासनका सह रजिष्ट्रार अच्युत कुइँकेलले दर्ता गर्न अस्वीकार गर्दै कात्तिक १४ गते दरपिठ गरेका थिए। उक्त दरपिठविरुद्ध भट्टराईले कात्तिक २१ गते पुनः इजलासमा अर्को निवेदन दिए। उक्त निवेदनमा न्यायाधीश शर्माको एकल इजलासले प्रशासनिक तहको दरपिठ बदर गर्न आदेश दिँदै अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको हो। 

रास्वपाका केन्द्रीय पदाधिकारी र सांसदले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरेको आरोप अवहेलना मुद्दामा लगाइएको छ।

स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेकाले रास्वपाका सांसद तथा नेतालाई कारबाहीको माग दाबी गरिएको छ । अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसाकार, बिनिता कठायत, लक्ष्मी तिबारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, हरि ढकाल, अशोक कुमार चौधरी, असिम शाह, गणेश पराजुली, केन्द्रीय पदाधिकारीहरु र रास्वपा बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेलाई सजायको माग गरिएको छ। 

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, कात्तिक २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्