Kathmandu Press

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता नामावली

यसपालि विभिन्न ठाउँका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता नामावली

काठमाडौं, कात्तिक २६ । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सोमबार आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो।

यसपालि विभिन्न ठाउँका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

Hardik ivf

त्यसका लागि सोमबार आयोगले प्रकाशन गरेको नामावलीअनुसार देशभर १ करोड ८१ लाख २८ हजार ८३२ मतदाता छन्। तीमध्ये पुरूष ९२ लाख २५ हजार ४४८ जना र महिला ८९ लाख ३ हजार १९७ जना छन् भने अन्य १८७ जना छन्।

मतदाता नामावलीमा समावेश भएकाहरूले सम्बन्धित स्थानीय तहको निर्वाचनमा मतदान गर्नेछन्।

ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुनेछ।

त्यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ भने सोही दिन अपराह्न ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, कात्तिक २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्