Kathmandu Press

यस्ता छन् माओवादी पदाधिकारी बैठकका पाँच निर्णय

नेकपा (माओवादी केन्द्र)ले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ।
यस्ता छन् माओवादी पदाधिकारी बैठकका पाँच निर्णय

काठमाडौं, कात्तिक २६ । नेकपा (माओवादी केन्द्र)ले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

केन्द्रीय समिति बैठक बोलाउनेसहित सोमबारको पदाधिकारी बैठकले विभिन्न पाँच निर्णय गरेको छ।

बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश कमिटीले हालसम्म टुंगो लगाएको उम्मेदवार अनुमोदन गर्ने निर्णय पनि गरेको छ।

साथै पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि सबै नेता कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई एकताबद्ध भएर लाग्न अपिल पनि गरेको छ।

त्यस्तै मंसिर मसान्तसम्म पबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा गरिसक्ने निर्णय पनि आजको बैठकले गरेको छ। 

'सरकारले गरिरहेको बेथितिहरूविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरिएको छ,' अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा लेखेका छन्।

सरकारले राम्रो काम गर्ने व्यक्तिहरूलाई हटाइरहेको र यसले देशमा असाधारण परिस्थिति सिर्जना भइरहेको पनि बैठकले निष्कर्ष निकालेको छ।

कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएर सत्तामा गएको तर अहिले त्यो विषय सेलाएको निष्कर्ष निकाल्दै बैठकले संविधान संशोधन गर्नुपरे अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने निर्णय गरेको छ।

बैठकबाट देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माओवादी केन्द्रको प्रस्ताव छ।

'यसले विकृति, विसंगति, र राजनीतिक अस्थिरताको अन्त्य गर्ने पार्टीको धारणा रहेको छ,' मल्लले बैठकका निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, कात्तिक २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्