राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु पुगेका हुन्।काठमाडौं, कात्तिक २६ : राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु पुगेका छन्। ु
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु पुगेका हुन्।
हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभलगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागीता छ। भ्रमण दलका सदस्य वन तथा वातारण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु पुगेका थिए।
कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची छ।