अन्योलमा विश्व टेष्ट च्याम्पियनसिप
काठमाडाैं, वैशाख ५ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले अघिल्लो वर्षबाट सुरु गरेको विश्व टेष्ट च्याम्पियनसिप अन्योलमा परेको छ। ....
काठमाडाैं, वैशाख ५ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले अघिल्लो वर्षबाट सुरु गरेको विश्व टेष्ट च्याम्पियनसिप अन्योलमा परेको छ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्य खेलकुद प्रतियोगिताहरु जस्तै विश्व टेष्ट च्याम्पियनसिप पनि अन्योलमा परेको हो। आईसिसीले प्रतियोगिताबारे छलफल गरिरहेको बताएपनि प्रतियोगिता जारी राख्ने वा रोक्ने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन।
आईसिसीमा नजिकै आइरहेको टेष्ट सिरिजमात्र रोक्ने कि पुरै प्रतियोगिता नै रद्द गर्ने विषयमा छलफल भइरहेको बताइएको छ। कोरोना भाइरसका कारण आसन्न इंग्ल्यान्ड र वेष्ट इन्डिज, बंगलादेश र अष्ट्रेलिया तथा श्रीलंका र बंगलादेशबीचको टेष्ट सिरिज प्रभावित हुने पक्का जस्तै छ। कोरोनाको असर अझै लामो समय रहे अन्य सिरिज अरु पनि प्रभावित हुने छन्।
गत वर्ष अगष्टबाट सुरु भएको टेष्ट च्याम्पियनसिपको फाइलन सन् २०२१ मा लड्र्स मैदानमा गर्ने आईसिसीको कार्यक्रम छ। तर, कोरोना भाइरसका कारण रोकिएका सिरिजको नयाँ मिति टुंगो नलागिसकेकाले टेष्ट च्याम्पियनसिपको फाइनल प्रभावित हुने निश्चित जस्तै छ।
आईसिसीले भनेको छ, ‘अहिलेको विषम परिस्थितमा प्रतियोगिता के गर्ने भन्ने विषयमा छलफल गरिरहेका भइरहेको छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन। सकभर हामी प्रतियोगिता गर्ने नै योजनामा छौं, त्यसैले विभिन्न विकल्पमा छलफल भइरहेको छ। केही समय अवस्था हेरेर निर्णय गर्छौँ।’
टेष्ट च्याम्पियनसिपमा ९ टिम सहभागी छन्। टेष्ट वरियतामा पुछारमा रहेका आईसिसीका तीन पूर्ण सदस्य अफगानिस्तान, आयरल्याण्ड र जिम्बाबे भने सहभागी छैनन्। अहिलेको ३६० अंकका साथ भारत शीर्ष स्थानमा छ भने २९६ अंक जोडेको अष्ट्रेलिया दोस्रो, १८० अंकका साथ न्यूजिल्याण्ड तेस्रो, १४६ अंकका साथ इंग्ल्याण्ड चौथो र १४० अंक जोडेको पाकिस्तान पाचौं स्थानमा छन्।
यस्तै, ८० अंक जोडेको श्रीलंका छैंठौं स्थानमा रहँदा २८ अंकका साथ दक्षिण अफ्रिका सातौं स्थानमा छ। वेष्ट इन्डिज र बंगलादेशले भने खाता खोल्न सकेका छैनन्।