विश्वकप विजेता इंग्लिश फुटबलर हन्टरको निधन
काठमाडौं, वैशाख ५ : विश्वकप फुटबल विजेता इंग्ल्याण्डका पूर्वखेलाडी नोर्मन हन्टरको निधन भएको छ। ७६ वर्षीय इंग्लिश डिफेन्डर हन्टरको शुक्रबार कोरोना....
काठमाडौं, वैशाख ५ : विश्वकप फुटबल विजेता इंग्ल्याण्डका पूर्वखेलाडी नोर्मन हन्टरको निधन भएको छ। ७६ वर्षीय इंग्लिश डिफेन्डर हन्टरको शुक्रबार कोरोना भाइरसका कारण उपचारका क्रममा निधन भएको हो।
हन्टर विगत एक सातादेखि उपचाररत थिए। इंग्लिश क्लब लिड्स युनाइटेडले आफ्ना लिजेन्ट खेलाडी हन्टरको निधन भएको पुष्टि गरेको छ। उसले भनेको छ, ‘कोरोनाको संक्रमण देखिएपछि हन्टर एक साताअघि अस्पताल भर्ना भएका थिए। स्वास्थ्यकर्मीहरू प्रयासका बाबजुद हाम्रा लिजेन्ट खेलाडीले आज बिहानै हामीलाई छाडे।’
लिड्स युनाइटेडले आफ्ना लिजेन्ट खेलाडीको निधनले आफू स्तब्ध भएको बताएको छ। इंग्लिश राष्ट्रिय फुबटल टिम, इंग्लिस फुटबल लिग र उनकै पूर्वक्लब ब्रिस्टल सिटीलगायतले हन्टरको निधनप्रति समवेदना प्रकट गरेका छन्।
सन् १९६६ को फिफा विश्वकप जित्दा इंग्ल्याण्ड फुटबल टिमका सदस्य रहेका हन्टरले राष्ट्रिय टिमबाट २८ खेल खेलेका थिए। सन् १९६२ मा १८ वर्षको उमेरमा हन्टरले लिड्स युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा डेब्यू गरेका थिए।
लिड्स युनाइटेडमा १४ वर्ष बिताउँदा ७३२ खेल खेलेका थिए। लिड्सबाट उनले दुई प्रिमियर लिग, एफए कप र लिग कप पनि जितेका छन्। सन् १९७६ मा उनी लिड्स छाड्दै ब्रिस्टल सिटीमा गएका थिए। ब्रिस्टलमा दुई सिजन बिताएपछि उनी बर्नस्लीमा आबद्ध भएका थिए।
हन्टरले बर्नस्लीबाटै प्रशिक्षण करिअर सुरुवात गरेका थिए। दुई सिजन उनले बर्नस्लीमा खेलाडी र प्रशिक्षक दुवैको भूमिका निभाएका थिए। उनले रोथरह्यम युनाइटेड र ब्राडफोडर्न सिटीमा पनि प्रशिक्षकका रुपमा काम गरेका थिए।