Kathmandu Press

लकडाउनभर उपत्यका नछाड्नुस्, समस्या परे हामी छौँ : उपत्यका नगरपालिका फोरम 

काठमाडौं, वैशाख ५ : लकडाउनको समयमा पनि नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरम,....

लकडाउनभर उपत्यका नछाड्नुस्, समस्या परे हामी छौँ : उपत्यका नगरपालिका फोरम 

काठमाडौं, वैशाख ५ : लकडाउनको समयमा पनि नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरम, काठमाडौंले उपत्यका नछाड्न आग्रह गरेको छ।

उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलका क्रममा यस्तो आग्रह गरेको हो।

‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ। हामी यो लकडाउनको पूर्ण समर्थन गर्दछौँँ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवद्ध गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहीँ सुरक्षित बस्नुहोला।’ 

प्रमुख शाक्यले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै पर्न नदिने प्रतिवद्धता जनाएका छन्।

‘अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै पर्न थालेपछि उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट आइरहेका छन्। ती समाचारप्रति हाम्रो ध्यान पुगेको छ,’ प्रमुख शाक्यले भने, ‘तपाईँहरुलाई केही समस्या छ भने उपत्यकाका सबै नगरपालिकाहरुको वडा कार्यालयमा सम्पर्क गर्नुहोला। हामी राहतको व्यवस्था गर्न तयार छौँ। कतै भोकै परेको जानकारी छ भने टोल फ्री नम्बर ११८० र ११३१ मा जानकारी दिनुहोला हामी समाधान गर्छौं।’  

उनले उपत्यका बाहिर रहेकाहरुलाई पनि लकडाउन अवधिभरी उपत्यका भित्र प्रवेश नर्गन आग्रह गरेका छन्। ‘तपाईँहरु जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहुन अनुरोध छ,’ उनले भने, ‘हामी सबै मिलेर लकडाउनको पूर्ण पालना गर्न सक्यौँ भनेर मात्रै कोरोना नियन्त्रण र रोकथाम गर्न सक्छौँ।’ 

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन्।  ‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्