दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्ने भएपछि ट्रम्पले के भने?
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन् ।काठमाडौं, कात्तिक २१ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको विजय निश्चित भएको छ। मंगलबार भएको राष्ट्रपतीय चुनावमा ट्रम्पले दोस्रो पटक राष्ट्रपतिमा विजयी हात पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन् । ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ।
ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएसँगै विजय निश्चित भएको हो। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ।
अमेरिकी राष्ट्रपति चुनावमा जित सुनिश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुले बधाई दिनेक्रम शुरु भएको छ।
आफ्नो जित सुनिश्चित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई निको पार्न सघाउ पुर्याउने बताएका छन् । संवोधनकाक्रममा उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए ।
ट्रम्पले संवोधनका क्रममा भने, ‘तपाईंहरुको ४७ औँ र ४५ औँ राष्ट्रपति चुनिने असाधारण मौका दिनुभएकोमा म अमेरिकी जनतालाई धन्यवाद दिन्छु । हामी हाम्रो देशलाई निको पार्न सघाउने छौँ ।’
ट्रम्पले आफूले निकै ठूलो राजनीतिक जित प्राप्त गरेको पनि बताए।
‘अभूतपूर्व जनादेश प्राप्त भएको छ। अबको युग अमेरिकाको स्वर्णिम युग हुनेछ,’ उनले भने।