डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित
सिनेटमा पनि रिपब्लिकनकै बहुमतकाठमाडौं, कात्तिक २१ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्।
अमेरिकी मिडियाहरूले ट्रम्पले राष्ट्रपति निर्वाचन जितेको घोषणा गरेका छन्। यद्यपि आधिकारीक रूपमा राष्ट्रपतिको घोषणा भने आगामी डिसेम्बरमा हुनेछ।
मंगलबार मतदान सम्पन्न भएपछि भएको गणनामा ट्रम्पले बहुमतका लागि आवश्यक २७० इलेक्टोरल मत कटाएसँगै उनले चुनाव जितेका हुन्।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्पले बुधबार अपराह्नसम्म २७७ इलेक्टोरल मत पाइसकेका छन्। त्यसबाहेक बाँकी अरू ठाउँहरुमा पनि रिपब्लिकन उम्मेदवारले अग्रता लिइरहेका छन्।
अपराह्नसम्म डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्टोरल मत पाएकी छन्।
यसपालिको चुनावमा ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुने प्रक्षेपण थियो। तर मतगणनाको सुरूवातदेखि अग्रता लिएका ट्रम्पले लगातार अग्रता बनाउँदै लगेका थिए।
५० राज्य रहेको अमेरिकामा प्रत्येक राज्यबाट दुई जना सिनेटर चुनिन्छन्।
यसपालिको निर्वाचनबाट सिनेटमा पनि रिपब्लिकनले बहुमत पुर्याएको छ। रिपब्लिकनले कुल १०० मध्ये ५१ सिनेटर निर्वाचित भएपछि यसपालि सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण हुने पक्कापक्की भएको छ।
हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिकनकै अग्रता छ। सिएनएनको विवरणअनुसार अपराह्नसम्म कुल ४३८ सदस्यीय हाउस अफ रिप्रिजेन्टेटिभमध्ये २०१ जना रिपब्लिकन उम्मेदवारको जित निश्चित भएको छ। हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतका लागि २१८ सिट जित्न आवश्यक रहन्छ।
सय सिनेटर र ४३८ हाउस अफ रिप्रिजेन्टेटिभ गरी इलेक्टोरल कलेजको संख्या ५३८ हुन्छ। यसको ५० प्रतिशतभन्दा बढी अर्थात २७० संख्या पुर्याउने अमेरिकाको राष्ट्रपति निर्वाचित हुन्छ।
सोही आधारमा ट्रम्प पुनः राष्ट्रपति बन्ने पक्कापक्की भएको हो।
ट्रम्पले ७ करोड ८ लाख ९६ हजार ७६२ पपुलर मत ल्याउँदा ह्यारिसले ६ करोड ५८ लाख ३५ हजार ७४६ पपुलर मत पाएकी छन्।