कांग्रेसले भन्यो- आयोगलाई अर्बौ छुट्याउन सकिन्छ, मजदुरका लागि राहत छुट्टाउन सकिन्न?
काठमाडौं, वैशाख ५ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्याप्त रहात पुराउन र पैदल हिँडिरहेका सर्वसाधरण जनतालाई घर पुर्याउने व्यवस्था मिल....

काठमाडौं, वैशाख ५ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्याप्त रहात पुराउन र पैदल हिँडिरहेका सर्वसाधरण जनतालाई घर पुर्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत सात दिनको लकडाउन महिना दिन पुग्न लागेको भन्दै सुकुम्बासीलाई अहिले जग्गाकी जाउलो? भन्दै प्रश्न समेत गरेका छन्। उनले यो भावनामा बगेर बोल्ने बेला नभएपनि सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य प्रतीक्षा गर्ने समय नभएको बताएका छन्।
‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन,’ उनले भनेका छन्, ‘सयौं किलोमीटर पैदल हिँडेर ती नागरिक घर गइरहेका छन्, जोसँग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन। यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो। ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ।’
शर्माले गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको बताएका छन्।
‘अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न?,’ उनले भनेका छन्, परीक्षण, परीक्षण र व्यापक परीक्षण–कोरोनाबाट जोगाउन। राहत, राहत र पर्याप्त राहत–भोकमरीबाट जोगाउन। सरकारलाई हामी विनम्र अपील गर्दछौं, सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनी पनि दिन चाहन्छौं ।’
उनले गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले काम गर्नुपर्ने र संकटमा प्रतिपक्षी साथमा रहेको बताएका छन्।











