Kathmandu Press

‘विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ’

मन्त्री दाहालले हाम्रा भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरुको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको सन्दर्भमा समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने उल्लेख गरे।
‘विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, कात्तिक १३ : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन्। 

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माणअघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपद्बाट क्षति बढी भएको बताए।

Hardik ivf

यस पटकको बाढीपहिरोको क्षतिलाई अध्ययन गर्दा बस्ती तथा विपद् व्यवस्थापनतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले हाम्रा भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरुको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको सन्दर्भमा समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने उल्लेख गरे।

मन्त्री दाहालले यसपटक बाढीपहिरोबाट मुलुकका ३९ राजमार्गको ८११ स्थानमा क्षति पुगेको बताए।

‘हाम्रा प्राथमिकता निर्धारण गर्दा मुलुकको राजस्वमा प्रभाव पार्ने क्षेत्र, बढी आवतजावत हुने क्षेत्रमा यातायात पूर्वाधारको विकास, आन्तरिक उत्पादनलाई बजारसम्म जोड्ने क्षेत्र तथा यात्राको दूरी घटाउने आयोजना छनोट गर्नुपर्ने देखिएकाले सोहीबमोजिमको योजना तथा कार्यक्रमलाई सरकारले ध्यान दिनेछ,’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको मुख्य विपद् बाढी पहिरो, भूक्षयजस्ता समस्या रहेको उल्लेख गर्दै भूकम्पीय दृष्टिले जोखिम मानिने नेपालमा सडक–पुल, भवन, जलविद्युत्लगायत पूर्वाधार निमाणका क्रममा राम्रोसँग भौगर्भिक अध्ययन हुनुपर्ने बताए। 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्