दिल्ली उड्न लागेको जहाजमा बम भेटिएन, सूचना भ्रामक
काठमाडौंबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना भ्रामक रहेको पाइएको छ।काठमाडौं, कात्तिक १२ । काठमाडौंबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना भ्रामक रहेको पाइएको छ।
बम राखेको सूचना आएपछि जहाजमा खानतलासी गर्दा बम नरहेको भेटिएको र सूचना भ्रामक रहेको पाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सोमबार अपराह्न ३:१२ बजे एयर इन्डियाको २१५ जहाज त्रिभुवन विमानस्थल अवतरण गरेको थियो।
अवतरणपछि पुनः उडानका लागि यात्रुहरू चढ्न थालेलगत्तै जहाजमा बम भएको सूचना प्राधिकरणले प्राप्त गरेको थियो।
जहाजमा १६९ मध्ये ४० जना चढिसकेका थिए।
बम रहेको सूचनापछि सबै ४० जना यात्रुहरूलाई ओरालेर सेना र प्रहरीले खानतलासी सुरू गरेको थियो। खानतलासीको क्रममा सूचना भ्रामक रहेको प्राधिकरणले पाएको हो।
यसअघि ६ दिनअघि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम भएको सूचना आएको थियो।
त्यतिबेला सेनाको बम डिस्पोजल युनिटले तीन घन्टासम्म खानतलासी गरेको थियो।
तीन घन्टासम्मको सर्च अपरेसनपछि केही नभेटिएपछि जहाज सुरक्षित रहेको प्रमाणित भएपछि पुनः दिल्ली उडेको थियो।
पछिल्लो केही सातायता भारतीय एयरलाइन्सका आन्तरिक र अन्तर्राष्ट्रिय उडानका सयौं जहाजहरूमा बम भएको सूचना आएको थियो।
घटनाबारे त्यहाँका अधिकारीहरुले छानबिन गरिरहेको छ।