स्पष्टीकरणको प्रतिबाद गर्न एमाले नेता रावलको आव्हान
भाटभटेनी सुपर स्टोरका व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विषयमा विरोध गरेको भन्दै एमालेले रावलसहित तीनजना नेतासँग स्पष्टीकरण मागेको बिषयमा उक्त भनाई आएको हो ।काठमाडौं, कात्तिक १२ : नेकपा एमालेका नेता भीम रावलले तानाशाही शैलीमा स्पष्टीकरण मागिएको र धम्क्याइएको आरोप लगाएका छन् । उनले उक्त स्पष्टीकरणको विरोध र प्रतिबाद गर्न कार्यकर्तालाई आव्हान समेत गरेका छन् ।
भाटभटेनी सुपर स्टोरका व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विषयमा विरोध गरेको भन्दै एमालेले रावलसहित तीनजना नेतासँग स्पष्टीकरण मागेको बिषयमा उक्त भनाई आएको हो । एमाले नेता रावलले सोमबार सामाजिक सञ्जालमार्फत तानाशाही शैलीमा स्पष्टीकरण मागेको भन्दै प्रतिबाद गरेका हुन् ।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ ।’