भोली फेरि वर्षा हुने
काठमाडौं, फागुन १७ : चार दिन अघि नेपालमा प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिए पनि भोली फेरि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ....

काठमाडौं, फागुन १७ : चार दिन अघि नेपालमा प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिए पनि भोली फेरि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोली फेरि अर्को जलवाष्पयुक्त नयाँ प्रणाली नेपाल प्रवेश गर्ने मौसमविद् मीनकुमार अर्यालले बताए । जसका कारण फेरि वर्षा हुने उनको भनाइ छ ।
आज मौसममा केही सुधार भएकाले घाम लागेपनि भोली भने फेरि प्रभावित हुने महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार, देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा हुने छ भने उच्च पहाडी क्षेत्रमा हिमपात हुने छ ।
आज राति भने देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस रहनेछ ।
त्यस्तै आज दाङको न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबै भन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।











