कास्की प्रहरीले भन्यो– लामिछानेका वकील र कार्यकर्ताको आरोप तथ्यहीन
प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए।काठमाडौं, कात्तिक ११ : प्रहरी अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि अदालत लैजाँदा हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपलाई लिएर प्रहरीले गंभिर आपत्ति जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ता एवम् कानुनव्यवसायीले लगाएको यस्तो आरोप भ्रामक एवम् कपोकल्पित रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए।
अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो। दोस्रो पटक म्याद थपका क्रममा लामिछानेको पक्षमा वकालतका लागि पुगेका कतिपय कानुनव्यवसायीले इजलासमै दुव्र्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको बिषयप्रति काश्की प्रहरीले गंभिर ध्यानाकर्षण गरेको हो।
म्याद थपका निम्ति लैजाँदा अदालत परिसरमा लामिछानेका कानुनव्यवसायीले सामाजिक सञ्जालमा लाइभमार्फत असन्तुष्टि जनाएका थिए। सामाजिक सञ्जालमा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएकोलगायत विभिन्न भिडियो पोष्ट गरिएको थियो। लामिछानेमाथि प्रहरीले पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ। संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा उनी अदालतको अनुमतीले थुनामा छन्।
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनुहुन सम्पूर्णमा अनुरोध गरिएको छ। नेपालको संविधान एवं प्रचलित ऐन, कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ,’ काश्की प्रहरीको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनुहुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ ।’