राजेन्द्र महतोले नयाँ पार्टी खोले, दल दर्ताका लागि आयोगमा निवेदन
राजेन्द्र महतोले आफ्नो नेतृत्वमा नयाँ दल खोलेका छन्।काठमाडौं, कात्तिक ९ । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा नयाँ दल खोलेका छन्।
शुक्रबार महतोल राष्ट्रिय मुक्ति पार्टी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ।
नेता महतो नेतृत्वमा दल दर्ताका लागि आज आयोगमा निवेदन दिइएको सो दलका नेता केशव झाले पनि जानकारी दिए।
नयाँ पार्टीमा अध्यक्षसहित १७३ केन्द्रीय सदस्य रहेको उनले जानकारी दिए।
'राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानुनअनुसार आवश्यक सबै कागजातहरु यसै पत्रसाथ संलग्न गरी पठाइएको छ,' सो दलले आयोगमा पेस गरेको निवेदनमा भनिएको छ।
पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आएका थिए।
उनी सद्भावना आनन्दीदेवी पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए।