अवहेलना मुद्दामा लिखित जवाफ बुझाउने नेपाल बारको तयारी
सर्वोच्च अदालतमा बारकै तर्फबाट लिखित जवाफ पेस गरिने बार महासचिव अञ्जीता खनालले काठमाडौं प्रेसलाई जानकारी दिइन्।काठमाडौं, कात्तिक ९ : नेपाल बार एसोसिएसनले अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आइतबार लिखित जवाफ बुझाउने भएको छ ।
सर्वोच्च अदालतमा बारकै तर्फबाट लिखित जवाफ पेस गरिने बार महासचिव अञ्जीता खनालले काठमाडौं प्रेसलाई जानकारी दिइन्।
‘बारको लिखित जवाफ आइतबार निश्चित पेश हुन्छ,’ बार महासचिव खनालले भनिन्। सर्वोच्च अदालत प्रशासन आफैँले टिप्पणी उठाएर बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता गरेको थियो।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको एकल इजलासबाट अवहेलना मुद्दामा बार अध्यक्ष घिमिरेलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी भएको थियो।
बार अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा व्यक्तिगत नभई संस्थागत रुपमा लिखित जवाफ दर्ता गरिने भएको छ।
बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा लेनदेन भएको भन्दै दिएको एक अभिव्यक्तिलाई लिएर गत असोज १४ गते सर्वोच्चका उप रजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर अदालतको अवहेलना निवेदन दर्ता गराएपछि दुई निकायविच दरार उत्पन्न हुँदै आएको छ।