रवि लामिछानेको तिहार हिरासतमै
बिदापछि कात्तिक २० गतेमात्र अदालत खुल्ने भएका कारण त्यहाँसम्म लामिछानेलाई थुनामै राखिने सम्भावना देखिएको छ ।काठमाडौं, कात्तिक ८ : सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काश्की जिल्ला अदालतले सात दिन थुनामा राख्न अनुमती दिएपछि तिहार थुनामै वित्ने देखिएको छ ।
अदालतले बिहीबार लामिछानेको विरुद्ध दर्ता भएको आरोपमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतले थप गरेको म्याद बिहीबारदेखि गणना हुनेछ ।
थपिएको म्याद अनुसार अब लामिछाने कात्तिक १४ गतेसम्म हिरासतमै रहने छन् । त्यसलगत्तै कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने छ ।
१४ गतेसम्म हिरासतमा राख्न पाइने भएका कारण सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन विदाका कारण असंभव हुने छ। बिदापछि कात्तिक २० गतेमात्र अदालत खुल्ने भएका कारण त्यहाँसम्म लामिछानेलाई थुनामै राखिने सम्भावना देखिएको छ ।
कात्तिक २० गते अदालतमा उपस्थित गराइएपछि फेरी म्याद थप गर्ने वा मुद्दा लैजाने विकल्प प्रहरीलाई अदालतले दिने छ । तिहारपछि अदालतले बिदामा बसेको म्याद गणना गरी निर्णय दिने छ । यद्धपि, यस विचमा लामिछानजे बन्दी प्रत्यक्षीकरण रिट लिएर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने कानुनी सुविधा भने पाउने छन् ।
लामिछानेलाई बिहीबार काश्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
गत शुक्रबार पक्राउ परेका लामिछानेलाई यसअघि अदालतले ६ दिन थुना म्याद दिएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा सहकारी ठगी तथा संगठित अपराधको मुद्दा चलाउने प्रयोजनका लागि अदालतबाट म्याद थप भएको हो ।
अदालतबाट म्याद थप भएपछि रास्वपाका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका थिए । निषेधित क्षेत्र तोड्दै रास्वपा कार्यकर्ता राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् ।