Kathmandu Press

आयोग पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन- आधारभूत वर्गको हितमा काम गर्नुस्

काठमाडौं, वैशाख ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिका....

आयोग पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन- आधारभूत वर्गको हितमा काम गर्नुस्

काठमाडौं, वैशाख ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन्।

बिहीबार मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले सरकारको उचाइ बढाउने हिसाबले काम गर्न निर्देशन दिएकी हुन्। 'जुन वर्गका निम्ति यो आयोग गठन भएको हो ती आधारभूत वर्गको हितका लागि काम गर्नुस्', आयोगका पदाधिकारीहरुलाई शुभकामना दिँदै मन्त्री अर्यालले भनिन्, 'तपाईंहरुको भूमिका निम्‍न वर्गहरुको हित पहिलो प्राथमिकता हुनुपर्छ।'

विगत सात दशकदेखि निम्न वर्ग समस्यामा रहेको भन्दै उनले ती आधारभूत वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। सरकार सुशासनको पक्षमा सुरुदेखि रहँदै आएको भन्दै उनले सरकारको उचाइ बढाउने हिसाबले काम गर्न आग्रह गरिन्।

तीन वर्षको आयोगको कार्यवधि रहेको भन्दै  मन्त्री अर्यालले यसबीचमा पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष के-के काम कसरी गर्ने भनेर योजना बनाएर काम अगाडि बढाउन समेत निर्देशन दिइन्।

भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी ज्ञवालीले भूमि व्यवस्थापनका क्षेत्रमा यो नै अन्तिम आयोग रहनेगरी काम अगाडि बढाइने प्रतिवद्धता जनाएका थिए।

गत चैत ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगका सदस्यहरुमा भीमबहादुर कार्की, जगत देउजा, मञ्‍जली शाक्य र दिनेशचन्द्र यादव नियुक्त भएका छन्।
 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्