दिल्लीमा पिजा डेलिभरी ब्वयलाई कोरोना, ७२ परिवार क्वारेन्टाइनमा
काठमाडौं, वैशाख ४ : भारतको दिल्लीमा पिजा डेलिभरी ब्वयलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनलाई संक्रमण देखिएपछि पिजा डेलिभरी गरिएका ७२ परिवारलाई सेल....

काठमाडौं, वैशाख ४ : भारतको दिल्लीमा पिजा डेलिभरी ब्वयलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनलाई संक्रमण देखिएपछि पिजा डेलिभरी गरिएका ७२ परिवारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
दिल्लीको माल्विया नगर क्षेत्रमा रहेको प्रख्यात पिजा पसलमा डेलिभरी गर्ने १९ वर्षीय युवकमा कोरोनाको संक्रमण देखिएको हो। स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएको दक्षिण दिल्लीका जिल्ला मजिस्ट्रेट बीएम मिश्राले बताए।
उनी करिब ५ किलोमिटर क्षेत्रका घरमा डेलिभरी गर्दै आएका थिए। उनले १५ दिन यता पिजा डेलिभरी गरेका घर पहिचान गरिएको उनले बताए।
दिल्ली प्रहरीका अनुसार, गत १५ दिनको अवधिमा ७२ घरमा पिजा डेलिभरी गरेको पाइएको छ। ति सबै घरका बासिन्दालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको कोरोना टेस्ट गर्न थालिएको भारतीय मिडियाले जनाएका छन्।
त्यस्तै, पिजा पसल पनि बन्द गरिएको छ। पसलमा काम गर्ने १७ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि कोरोना टेस्ट गर्न लागिएको जनाएको छ।
पिजा डेलिभरी गर्ने युवकले हातमा पंजा र मास्क लगाउने गरेका थिए। उनलाई खोकी लाग्न थालेपछि स्वास्थ्य परीक्षण गरिएको थियो। अहिले उनको राजीव गान्धी सुपर स्पेसिलिटी हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाएको छ।
योसँगै दिल्लीमा एक हजार पाँच सय ७८ जनामा कोरोना देखिएको छ। जसमध्ये ३२ जनाको मृत्यु भएको छ।
भारतमा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। १२ हजार आठ सय ७८ जनामा कोरोना देखिएको छ। जसमध्ये चार सय २३ जनाको मृत्यु भएको छ। आज मात्रै ८६ जनामा कोरोना देखिएको जनाएको छ।
हिन्दुस्तान टाईम्स











