Kathmandu Press

लकडाउनको समस्या : घरमा आमा बितिन्, किरिया महाकालीपारि

दार्चुला, वैशाख ४ : मंगलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा क....

लकडाउनको समस्या : घरमा आमा बितिन्, किरिया महाकालीपारि

दार्चुला, वैशाख ४ : मंगलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन्।

६२ वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि वासुदेव भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमै किरिया बस्नुपरेको हो।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए। लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाएनन्।

'मजदूरीकै लागि भारतका काला पहाड गएका हुन्,' उनका कान्छा भाइ सुनिलले भने, 'चार भाइमध्ये एक्लै घरमा छु। नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए। दुई दाइ घर आएनन्, वासुदेव घर आउँदा धार्चुलामा अड्कियो।' 

विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा सुनिल एक्लै किरिया बसेका छन्। 

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोजेका थिए तर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भयो। आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो । वासुदेवले भने,'अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाएपछि क्वारेन्टाइनमै किरिया बसेको छु।'
 
'ठेकेदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो,' उनले भने,'विसुमा आमा गौमति र बुवा खेट्टेलाई भेट्ने सपना थियो। देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा बज्रपात भयो।'
 
सयौँ नेपालीसँगै वासुदेव पनि धार्चुला पुगेका थिए। 'तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि नाराबाजीसमेत गर्यौँ,' उनले भने, 'तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन्। पाँच दिन भारतीय गौशालामा बास भयो, केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम्रै आँखा अगाडि फाल हाने। हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ।'

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० दिनदेखि बसेका छन्। क्वारेन्टाइनमा उहाँजस्ता एक हजारभन्दा बढी नेपाली धार्चुलामा बसेका छन्।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनले दिनदिनै फोनमा परिवारसँग कुरा गर्ने गरेका थिए। लकडाउन कहिले खुल्ने हो? लकडाउन पालना नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनकी आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो। 'मंगलबार साँझ घरबाट फोन आयो, फोन सामान्य थिएन, सोचेँ आमाले गर्नुभएको होला,' वासुदेवले भने,'भाइको रुँदै फोन आयो। आमा बित्नुभयो।'

उनका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन्। भाइहरु पनि गाउँ पुगेका छैनन्। एक्ला भाइ घरमा छन्।

७२ किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश भएका छन्। शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताउछन। 'हामीले आवश्यक समन्वयका लागि पत्र पठाएका छौँ,' उनले भने।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्