चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म
बागलुङ, वैशाख ४ : लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन्। सोमबार बिहान चार बजे पोखर....

बागलुङ, वैशाख ४ : लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन्। सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मंगलबार दिउँसो बागलुङको सदरमुकाममा भेटिएका हुन्।
रोल्पाको लुङ्ग्री गाउँपालिका–६ मचालका सात मजदुर विगत लामो समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरा आसपासको सडक निर्माणमा कार्यरत थिए। उनीहरुले सडक निर्माणमा मजदुरी गरी घरपरिवार पाल्दै आएका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी रहेका कारण सबैभन्दा बढी मर्कामा ज्यालादारीमा काम गर्ने मजदुर पर्दै आएका छन्।
दुई दिनमा पोखराबाट बागलुङ आएका मजदुर अबको चार दिनमा रोल्पा पुग्ने लक्ष्य राखेका छन्। उनीहरुलाई बागलुङदेखि रुकुम पुग्नै दुई दिन लाग्नेछ। ज्यालादारीमा कमाएको पैसाले यतिका दिन खान पुगेपनि लकडाउन नखुल्ने भएपछि हिँडेरै घर पुग्न थालेको लुङ्ग्री गाउँपालिका–६ मचालका भविरोका क्षेत्रीले बताए। “कमाइको पैसा पनि खानामै सकियो, राहतका नाममा पाएको पाँच किलो चामल पनि खाइयो”, मजदुर क्षेत्रीले भने, “लकडाउन खुल्ने अवस्था नआएपछि बाँच्नकै लागि भए पनि हिँडेर घरतर्फ लागेका हौँ।” मजदुर क्षेत्रीसँगै सात जनाको समूहले पाँच किलो चिउराको भरमा पोखराबाट रोल्पाका लागि यात्रा तय गरेको बताए।
सडक निर्माण ठप्प भएपछि खाना बस्दा कमाएको पैसा सकिएर रित्तो हात घर फर्किएको मजदुरले बताएका छन्। 'अघिपछि घर फर्किँदा गोजीमा दुई÷चार पैसा हुन्थ्यो', क्षेत्रीले भने, 'कमाएको पैसा खाएर सकियो, बाँचे फेरि कमाउँला अहिले घर पुग्न पाए हुन्थ्यो।'
लकडाउन खुल्ला र काम गरौँला भन्दाभन्दै महिना बित्न थालेपछि बाँच्नै गाह्रो भएर घर हिँडेको मजदुरले बताएका छन्। रातको समयमा सडकपेटीमा सुतेर चिउरा र पानी खाँदै घरतर्फ हिँडेको उनीहरुको भनाइ छ। “पेट पाल्नै गाह्रो भयो, घर गएर आटोपिठो खाउँला', मजदुर क्षेत्रीले भने, “बाँचे फेरि काम गरौँला।'
दुई दिनको लामो दुरी पार गरिसक्दा उनीहरुको एक ठाउँमा मात्रै स्वास्थ्य परीक्षण भएको छ। उनीहरुलाई बागलुङ प्रवेशद्वारमा बागलुङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेक्समा ज्वरो तथा स्वास्थ्य परीक्षण गराएको थियो।











