Kathmandu Press

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी

हसिनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म अदालतमा हाजिर गराउन आदेश
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, कात्तिक १ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बंगलादेशको विशेष अदालतले हसिनाविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पक्राउ पुर्जी जारी भएको हो।

अदालतले हसिनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

Hardik ivf

बंगलादेशमा युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि हसिना गत अगस्ट महिनामा बंगलादेश छाडेर भागेकी थिइन्।

त्यतिबेला भारतमा निर्वासनमा थिइन्। पछिल्लो समय उनी कतै नदेखिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

१५ वर्षसम्म बंगलादेशको सत्तामा रहेकी हसिनाले पछिल्लो समय स्वतन्त्रताको लडाइँमा मारिएका भूतपूर्व सेनाका सन्ततीहरूलाई सरकारी जागिरमा विशेष कोटा दिने निर्णय गरेपछि युवाहरू आन्दोलित भएका थिए।

युवाहरूको आन्दोलनलाई बल प्रयोग गरी दबाउने उनको योजना निरर्थक बनेपछि हसिनाले देशै छाड्नुपरेको थियो।

युवाहरूको प्रदर्शनमा २ सय जनाभन्दा बढी मारिएको बताइन्छ। त्यतिबेला सयौं घाइते र हजारौं युवाहरू पक्राउ परेका थिए।

विशेष अदालतले मानवताविरूद्धको अपराध गरेको आरोपमा हसिना र उनको पार्टी अवामी लिगका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएका अन्य ४३ जनाको नाम भने खुलाइएको छैन।

हसिनाको बहिर्गमनपछि बंगलादेशमा अहिले नोबल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार छ।

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, कात्तिक १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्