Kathmandu Press

वीरेन्द्रनगरमा लकडाउन अवधिभर पाहुना प्रवेशमा रोक

सुर्खेत, वैशाख ४ : सुर्खेतको वीरेन्द्रनगरमा लकडाउन अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइएको छ। नगरपालिकामा आउने विदेश, अन्य जिल....

वीरेन्द्रनगरमा लकडाउन अवधिभर पाहुना प्रवेशमा रोक
फाइल फाेटाे

सुर्खेत, वैशाख ४ : सुर्खेतको वीरेन्द्रनगरमा लकडाउन अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइएको छ। नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा स्थानीय तहबाट आउने पाहुना तथा नातेदारलाई  घरमा प्रवेश गर्न नदिइने भएको हो।

देशका विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। नगर कार्यपालिकाको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक मेयर मोहनमाया ढकालले बताइन्।

“नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई प्रवेश नगराउन सम्पुर्ण नगरवासीमा वडामार्फत अनुरोध गरेका छौ,” कार्यवाहक मेयर ढकालले भनिन्, “अत्यावश्यक भई बाहिरबाट आउनै पर्ने भएमा होम क्वारेन्टाइन कायम गरी रहन बस्ने व्यवस्था गर्ने तयारी गरेका छौँ।”

आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी एक सय शय्याको क्वारेन्टाइन सार्वजनिक विद्यालयमा व्यवस्थापन गर्ने  गरी अघि बढ्ने ढकालले जानकारी दिइन्। यसअघि ६० शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ।

त्यसैगरी राहत वितरणको कामलाई यही वैशाख ७ गतेसम्म सम्पन्न गर्नेगरी अघि बढेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले बताए। “वैशाख ७ गते पश्चात् पनि कुनै परिवारलाई राहत वितरण नगरी नहुने अवस्था आएमा नगरपालिकाको मापदण्डानुसार राहत वितरण गर्नेछ,” सुवेदीले भने। वडाबाट जनप्रतिनिधिसहितको टोली बासस्थानमा गई एकिन गरेर मात्रै उपयुक्त स्थानबाट सामाजिक दूरी कायम गरी राहत वितरण गरिने जनाएको छ।

यसरी वितरण गर्दा सामग्रीको हकमा हाल प्रदेश सरकारबाट प्राप्त ५६९ प्याकेट खाद्यान्न वितरण गर्ने र नपुगेमा नगरपालिकाले पुनः खरिद गरी पोका तयार गरेर वितरण गर्ने प्रशासकीय अधिकृत सुवेदीले बताए। (रासस)

 

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्