‘आईपिएलका लागि एसिया कप रद्द गर्न तयार छैनौं’
काठमाडौं, वैशाख ३ : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष एहसान मनीले आईपिएलका लागि एसिया कप टि–२० प्रतियोगिता रद्द गर्न नसकिने बताए....
काठमाडौं, वैशाख ३ : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष एहसान मनीले आईपिएलका लागि एसिया कप टि–२० प्रतियोगिता रद्द गर्न नसकिने बताएका छन्।
अनिश्चितकालका स्थागित आईपिएल आयोजनाका लागि सेप्टेम्बरमा हुने एसिया कप स्थगित हुने चर्चा चलेपछि पीसीबीका अध्यक्ष मनीले आईपिएलका लागि एसिया रद्द गर्न नसकिने बताएका हुन्।
एसिया कपको आयोजक हो पाकिस्तान। भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण पाकिस्तानमा प्रतियोगिता हुन नसक्ने भएपछि एसिया कप युएईमा हुने तय भएको छ।
‘मैले पनि यस्ता कुराहरु सुनिरहेको छु, एउटा फ्रेन्चाइज लिगका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता रोक्ने कुरा हुन सक्दैन,’ पीसीबीका अध्यक्ष मनीले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यो भारत र पाकिस्तानको मात्र कुरा होइन, एसियामा हामीमात्र छैनौं, यहाँ अन्य थुप्रै देशहरु छन्।’
कोरोना भाइरसको महामारीका कारण अहिले नै प्रतियोगिता हुने/नहुने भन्ने निश्चित भइसकेको छैन। िमनीले भनेका छन्, ‘त्यतिबेलासम्म क्रिकेटका सम्पूर्ण गतिविधि सुरु भए भने एसिया कप पनि हुन्छ। यो एकदमै महत्वपूर्ण प्रतियोगिता हो। एसियाको क्रिकेट विकास यही प्रतियोगिताबाट आउने पैसमा निर्भर छ। त्यसैले एसिसीका कतिपय सदस्य राष्ट्रका लागि एसिया कपले ठूलो अर्थ राख्छ।’
कोरोनाको त्रासबीच एसिया कप आयोजनाका लागि ठूलो चुनौती रहेको उनले बताएका छन्। एसियामा आगामी दुई वर्ष क्रिकेट विकासका लागि एसिया कप महत्वपूर्ण भएकाले प्रतियोगिता आयोजनाका लागि अधिकतम प्रयास गर्ने उनले बताएका छन्।
यसैगरी, मनीले टी–२० विश्वकप स्थागित भए आईसिसीका धेरै सदस्य राष्ट्रका क्रिकेट संघमा आर्थिक संकट आउने पनि बताएका छन्। ‘यदि आईसिसीले सदस्य राष्ट्रहरुलाई विश्वकपवापत आउने रकम दिए पनि कतिपय देशका क्रिकेटमा ठूलो संकट उत्पन्न हुन्छ,’ मनीले भनेका छन्।
सन् २०२३ देखि सन् २०३१ सम्म आईसिसीका प्रतियोगिताहरू आयोजना गर्न पाकिस्तान इच्छुक रहेको मनीले बताएका छन्।
पछिल्लो समय क्रिकेटका ‘बिग थ्री’ देशहरू भारत, अष्ट्रेलिया र इंग्ल्यान्डले मात्र आईसिसीका प्रतियोगिता आयोजना गरिरहेको र अब अन्य देशहरु पनि प्रतियोगिता आयोजनाका लागि तयार रहेको उनले बताएका छन्।