सफल भएन अमेरिका-उत्तर कोरिया शिखर वार्ता
काठमाडौं, फागुन १६ : अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोइमा भएको शिखर वार्ता व....

काठमाडौं, फागुन १६ : अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोइमा भएको शिखर वार्ता विना निस्कर्ष टुंगिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार उत्तर कोरियाले आफ्ना सबै आणविक अस्त्र नष्ट नगरिकनै अमेरिकालाई सबै आर्थिक प्रतिबन्धहरु हटाउन आग्रह गरेपछि वार्ता विना निस्कर्ष टुंगिएको जानकारी अमेरिकी राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई दिएका थिए ।
ट्रम्पले भने, ‘उनीहरु (उत्तर कोरिया)ले सबै आर्थिक प्रतिबन्धहरु पूर्ण रुपमा हटाउन आग्रह गरे, अनि हामीले त्यसो गर्न सकेनौं । वार्ता असफल भएका कारण वार्ता पछि हुने भनिएको संयुक्त हस्ताक्षर कार्यक्रम र संयुक्त लन्च पनि हुन सकेन । अमेरिकी राष्ट्रपतिको कार्यालयले बनाएको संयुक्त हस्ताक्षर र लन्च कार्यक्रम खारेज गरिएका थिए ।
दुई नेताहरुको बैठक पछि निशस्त्रीकरणमा भएको प्रगति घोषणा गरिने आशा गरिएको थियो । कहिलेकाहीं वार्ता निस्कर्षमा नपुगेर बीचैमा हिंड्नुपर्ने अवस्था आउने र अहिले त्यस्तै भएको जानकारी ट्रम्पले दिएको बीबीसीले उल्लेख गरेको छ । तेस्रो शिखर भेटघाटको कुनै योजना नबनेको जानकारी पनि ट्रम्पले संवाददाताहरुलाई दिएका थिए ।
दक्षिण कोरियाले अमेरिका र उत्तर कोरियाका नेताहरुबीचको छलफल निस्कर्षमा पुग्न नसकेकोेप्रति खेद व्यक्त गरेको छ । तर दुई देशका नेताहरुले बीचको वार्ताले पहिलो पटक सबैभन्दा बढी अर्थपूर्ण प्रगती हासिल गरेको दक्षिण कोरियाले जनाएको छ ।
राष्ट्रपति ट्रम्पका अनुसार उत्तर कोरियाली नेता किमले यङबियन भएका आणविक अनुसन्धान र उत्पादनमा प्रयोग गर्ने सुविधा नष्ट गर्ने र त्यसको बदलामा अमेरिकाले सबै आर्थिक प्रतिबन्धहरु एकमुष्ट रुपमा हटाउन आग्रह गरेका थिए । त्यसका लागि अमेरिका तयार नभएको जानकारी पनि ट्रम्पले दिए ।
उत्तर कोरियासँग यङबियन बाहिर पनि आणविक अस्त्र उत्पादनलाई चाहिने सामाग्री उत्पादन गर्ने स्थानहरु भएको अनुसन्धानहरुले देखाएका छन् । गत महिना उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफेन बेगनले उत्तर कोरियाले आफू माथि लागेको आर्थिक प्रतिबन्ध सम्पूर्ण रुपमा हटेमा आफूसँग भएका प्लुटोनियम र युरेनियम प्रशोधन गर्ने संयन्त्र नष्ट गर्ने वचन दिएको जानकारी दिएका थिए । यङबियन उत्तर कोरियाको प्लुटोनियम प्रशोधन गर्ने एउटा मात्र स्थान भए पनि आणविक अस्त्र उत्पादन गर्न चाहिने युरेनियम उत्पादन गर्ने संयन्त्र भने अन्यत्र पनि भएको अनुसन्धानहरुले देखाएका छन् ।
वार्ता असफलतामा टुंगिदा राष्ट्रपति ट्रम्पको छविमा केही धक्का पुगेपनि यसले ठुलो असर भने नपार्ने ट्रम्पका सहयोगीहरुको विश्वास छ । वार्ता निस्कर्षमा नपुगेपनि सौहाद्रपूर्ण रुपमा टुंगिएको सन्देश ट्रम्प र किम दुवैले दिएका थिए । वार्ता सकिएपछि दुवै नेताहरु सञ्चारमाध्यमहरुले देख्ने गरी केही समय सँगसँगै हिंडेका थिए ।
वार्ता असफलतामा टुंगिए पनि सन् २०१७मा सम्बन्धमा बढी नै तिक्तता देखिएको अमेरिका र उत्तर कोरियाको सम्बन्धमा राष्ट्रप्रमुखहरुबीच संवाद स्थापना हुँदा कोरियाली प्रायद्विपमा शान्तिको अवस्था देखिएको छ ।
अहिले राष्ट्रपति ट्रम्प अमेरिका फर्किनका लागि भियतनामबाट हिंडिसकेका छन् भने उत्तर कोरियाली नेता किमले भने भियतनामको दुई दिने राजकीय भ्रमणको थालनी आजैबाट गर्ने जनाइएको छ ।
ट्रम्प किम संवादको थालनीले दशकौंदेखि कोरियाली प्रायद्विपमा देखिएको द्वन्द्व र अनिश्चिततालाई केही मत्थर पारेको छ । उत्तर कोरियाको आणविक अस्त्र विकास कार्यक्रम कोरियाली प्रायद्विप र विश्वशान्तिका लागि चुनौती देखिएको भन्दै अमेरिकाको ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जोङ उनसँग सिधा वार्ता गर्ने प्रस्ताव गत वर्ष आश्चर्यजनक रुपमा अगाडि सारेको थियो ।











