सरकारलाई कांग्रेसको अपील- अब कोरोना ‘घुम्ती परीक्षण शिविर’ सुरू गरौं
काठमाडौं, वैशाख ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ‘घुम्ती परीक्षण शिविर’ सुरु गर्न स....

काठमाडौं, वैशाख ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ‘घुम्ती परीक्षण शिविर’ सुरु गर्न सरकारलाई अपील गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको संक्रमण फैलिन नदिन घुम्ती परीक्षण शिविर सुरु गर्न अपील गरेका हुन्। उनले परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको पनि बताएका छन्।
‘धादिङमा संक्रमण देखिएका युवा ४० दिनअघि कोरियाबाट फर्किएको विवरण आएको छ। त्यसैले कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तीनै तहका सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, रौतहटमा संक्रमण देखिएका युवक लक डाउनका बेला पैदल हिँडेर नेपाल प्रवेश गरेको पुष्टि भएकाले सरकारले नै व्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने विषयबाहेक अब नाकामा थप गम्भीरता अपनाउनु पर्ने कांग्रेसको सुझाव छ।
कांग्रेसले कोरोना परीक्षण गर्ने केन्द्रहरु विस्तार हुनु सकारात्मक भएपनि र्यापिड टेष्टको परिणाम भने विश्वव्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको पिसिआर विधिको प्रयोग बढाउन सरकारलाई आग्रह गरेको छ।
प्रवक्ता शार्माले कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसकिए लक डाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसिकने बताएका छन्।
‘लकडाउनका बावजुत कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिँदै थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन कांग्रेस सरकार समक्ष अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, कांग्रेसले अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न अझैपनि ढिलाइ भइरहेको प्रति आपत्ति जनाएको छ। ‘कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएकाले मेडिकल सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।











