काठमाडौं, असोज १६ । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाएको छ ।
इजरायलका विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत राष्ट्रसंघका महासचिव गुटेरेसनलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको जानकारी गराएका हुन् ।
‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन,’ काट्जले ट्वीटरमा लेखेका छन् ।
महासचिव गुटेरेसमाथि ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको आरोप समेत काट्जले लगाएका छन् ।
प्यालिस्टिनी विद्रोही समूह हमासलाई आतंकवादी संगठन घोषणा गर्ने बिषयमा कुनै पहल नगरेको, हमास, हिज्जबुल्लाह, हुथी र इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको आरोप समेत काट्जले महासचिव गुटेरेसमाथि लगाएका छन् ।
मंगलबार इरानले इजरायलमाथि सयौंको संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो। इसराइलले अक्टोबरयता गाजामा लगातार गरिरहेको आक्रमण हमासका सर्वोच्च नेताको हत्या गरेको घटनामा इरानले निन्दा गर्दै आएको थियो।
यसअघि अप्रिलमा पनि इरानले इजरायलमाथि आक्रमण गरेको थियो। त्यतिबेलाको आक्रमणभन्दा मंगलबारको आक्रमण दोब्बर ठूलो रहेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।
इसराइल अहिले गजामा हमासविरुद्ध, लेबननमा हिजबुल्लाहविरूद्ध र इरानविरूद्धको युद्धमा छ।