Kathmandu Press

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौं, बैशाख ३ : त्रिभुवन  विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ।

दैनिक एक दर्जन बढी ....

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौं, बैशाख ३ : त्रिभुवन  विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ।

दैनिक एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन्। केही समय बस्छन् र लगत्तै फर्कन्छन्। कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका। कहिले नेपाल प्रहरीका सवारी पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन्।

विश्व स्वास्थ्य संगठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन। आखिर के छ त? विश्वविद्यालय परिसरमा । 

जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र। नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गरेका छन्। केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन्। केन्द्रका प्रमुख पुन आजभोली पोखरामा छन्।

केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उनले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्दैनन्, निर्देशनसमेत दिन्छन्। “तिमी केटाहरुले सङ्कटको समयमा पार लगाउन सक्छौं, कि सक्दैनौँ,  नेतृत्व क्षमता देखाउन सक्छौं, कि सक्दैनौँ भनेर जिम्मा नै दिनुभएको छ पुन सरले”, आविष्कार केन्द्रमा संयोजन गरिरहेका इन्जिनीयर शङ्कर ढकालले भने।

कोरोनाको संक्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ। विश्वव्यापी रुपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले  पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिइरेका पर्वतका अमबहादुर रोकालाई पनि संकटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन। 

कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पुर्‍याउन रोबर्ट बन्दैछ। सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत ६ जनाको समूहले काम गरिरहेका छन्। फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ। बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन। फ्याकिएका सामान नै प्रयोग गरेर रोबर्ट तयार हुँदैछ। सोमबार डेमो गरिसकिएको छ।

“स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन”, ढकालले भने।  रोबर्ट अबको तीन दिनमा तयार हुनेछ। सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ। आईसीयू तयार हुँदैछ। वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबर्ट तत्कालै आवश्यक परेको छ।

माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई। कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्‍याउनसमेत सहज होओस् भनेर नै रोबर्ट तयार पारिएको इन्जिनीयर कार्कीले बताए। रासस

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्