लकडाउनमा अलपत्रका लागि पशुपतिमा निःशुल्क खाना
काठमाडौं, वैशाख ३ : लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई पुशपतिमा निःशुल्क खाना खुवाउन थालिएको छ। पशुपति क्षेत्र विकास कोषले दैनिक....

काठमाडौं, वैशाख ३ : लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई पुशपतिमा निःशुल्क खाना खुवाउन थालिएको छ। पशुपति क्षेत्र विकास कोषले दैनिक खाना खुवाउन सुरु गरेको हो।
लकडाउनयता अलपत्र यात्रु, भोकै बस्नुपर्ने अवस्थामा रहेका मजदुर, परिवारविहिन, साधुसन्तहरुलाई निःशुल्क खाना खुवाउने गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए। उनका अनुसार, दैनिक पाँच सयभन्दा बढीले खाना खाने गरेका छन्।
‘ज्याला मजदुरी गरेर बसेकालाई ठेकदारहरुले छोडिदिएपछि अलपत्र परेका छन्,’ कार्यकारी निर्देशक खतिवडाले भने, ‘उनीहरुलाई दिनमा एकपटक बिहान ११ मध्याह्न १ बजेसम्म खाना खुहाउने गरिएको छ।,’ अलपत्र परेका साथसाथै पशुपतिमा मागेर गुजारा चलाउनेहरुलाई सहज भइरहेको उनले बताए।
लकडाउन लम्बिएसँगै खाना खान आउनेको संख्या बढ्दै गएको कोषले जनाएको छ। कोषका अनुसार, सुरुआतमा दुई–तीन सय आएपनि अहिले दैनिक पाँच जनासम्म पुग्ने गरेका छन्। उनीहरुका लागि दैनिक २५ हजार बराबरको खर्च हुने गरेको कार्यकारी निर्देशक खतिवडाले बताए।
यससँगै पशुपतिमा भक्तजन आउन छोडेका छन्। जसले गर्दा परेवा र बादरलाई समस्या भएको छ। उनीहरुलाई पनि कोषले नै चारोको व्यवस्था गर्दै आएको छ।
त्यस्तै, पशुपति क्षेत्रमा विभिन्न स्थानबाट आएर बसेका साधुसन्तलाई पनि खानपिनको व्यवस्था गरेको छ। अरुले पकाएको नखाने साधुसन्तलाई चामल र दाल वितरण गरिएको छ। करिब तीन सयको हाराहरीमा त्यस्ता साधुसन्त रहेका छन्।
निःशुल्क खाना खुवाउनु र साधुसन्तलाई खाद्यान्न उपलब्ध गराउनमा मानव सेवा आश्रमले पनि सहयोग गरिरहेको कोषले जनाएको छ।












-(86)-1764936079.jpg)