मोटरसाइकल दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु
गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।कैलाली, असोज १५ : मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ।
गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन्। बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।