बाढीपहिरोका कारण १६ जलविद्युत् आयोजना क्षतिग्रस्त
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले बाढीका कारण आयोजनाहरुको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको जनाएकाे छ।काठमाडौं, असोज १३ : निरन्तर चलेको वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बन्न पुगेका छन्। बाढीपहिरोका कारण प्राधिकरणका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले बाढीका कारण आयोजनाहरुको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको जनाएकाे छ।
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्र्याउने पोखरीमा बाढीले क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएका छन्।
कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। इप्पानका अनुसार ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ।
बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ। कुल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ। आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ। बेलीब्रिज पनि बगाएको छ भने खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ।
यता, तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ। नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा पनि क्षति पुगेको छ। यस्तै, फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पु¥याउँदा विद्युत् उत्पादन बन्द भएको छ।
बाढीका कारण कुल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा क्षति पुगेको छ । यस्तै, इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ।
यता, दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ। बाढीले निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ।
खानीखोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको छ।
बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रर्वद्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ। हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ।
१४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ। हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ। पहुँचमार्गमा पनि क्षति भएको छ। प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ।
सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि पहिरोका कारण अबरुद्ध बनेको छ। पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ। सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको र लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको इप्पानले जनाएको छ।