राति कहाँ कहाँ पर्छ ठूलो पानी ? यस्तो छ भोलिसम्मको मौसम
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।काठमाडौं, असोज ११ : शुक्रबार बिहानदेखि देशका अधिकांश भूभागमा पानी परिरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ।
हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भोलि पनि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने पूर्वानुमान गरेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा शनिबार मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीसमेत आउने महाशाखाको पूर्वानुमान छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।