उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ?
परिषदको निर्णय अनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू हरिप्रसाद भण्डारी र धिरबहादुर चन्दलाई उच्च अदालत विराटनगरको अस्थाइ इजलास ओखलढुंगा सरुवा सिफारिस गरिएको छ।काठमाडौं, असोज ११ : उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा सिफारिस भएको छ। शुक्रबार बसेको न्याय परिषद् बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो।
परिषदको निर्णय अनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू हरिप्रसाद भण्डारी र धिरबहादुर चन्दलाई उच्च अदालत विराटनगरको अस्थाइ इजलास ओखलढुंगा सरुवा सिफारिस गरिएको छ। उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत नातिबाबु लामिछाने उच्च अदालत पोखरा अन्तर्गत बागलुङ इजलास सरुवा भएका छन्।
यसैगरी, तुल्सिपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश सुभाष पौडेलको नेपालगञ्ज इजलास, उच्च अदालत तुल्सिपुरको नेपालगञ्ज इजलासमा कार्यरत न्यायाधीश श्यामजी प्रधानको उच्च अदालत सुर्खेतअन्तर्गतको जुम्ला इजलास, बुटवल इजलासमा कार्यरत न्यायाधीश सोमकान्त मैनालीको उच्च अदालत तुल्सिपुर र उच्च अदालत तुल्सिपुरको नेपालगञ्ज इजलासमा कार्यरत किरणकुमारी गुप्ताको बुटवल इजलासमा सरुवा सिफारिस भएको छ।
परिषदको निर्णय अनुसार उच्च अदालत जनकपुरअन्तर्गत राजविराज इजलासमा कार्यरत न्यायाधीश राधाकृष्ण उप्रेतीको उच्च अदालत पाटन, उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश कविप्रसाद न्यौपानेको उच्च अदालत पाटन, उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश सुशील कोइरालाको उच्च अदालत जनकपुर, राजविराज इजलास र उच्च अदालत तुल्सिपुरमा कार्यरत अच्युतकुमार आचार्यलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा सिफारिस गरिएको छ।
यस्तै, उच्च अदालत तुल्सिपुरको बुटवल इजलासमा कार्यरत विष्णुप्रसाद अर्याललाई उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश नरबहादुर खड्कालाई उच्च अदालत तुल्सिपुर र उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत न्यायाधीश सरला मोक्तानलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा सिफारिसको निर्णय भएको छ।