Kathmandu Press

अध्ययन भन्छ- गर्मीले कोरोना भाइरस फैलिनबाट रोक्न सक्दैन 

उत्तरी गोलार्द्धमा डोनाल्ड ट्रम्पदेखि स्कूलका विद्यार्थी सबै कोरोना भाइरसबाट चिन्तित छन्। सबै घरभित्रै बसेका छन्। जसरी गर्मी बढ्दै गएपछि अन्य भाइरल रोग हराउँदै जान्छन्....

अध्ययन भन्छ- गर्मीले कोरोना भाइरस फैलिनबाट रोक्न सक्दैन 

उत्तरी गोलार्द्धमा डोनाल्ड ट्रम्पदेखि स्कूलका विद्यार्थी सबै कोरोना भाइरसबाट चिन्तित छन्। सबै घरभित्रै बसेका छन्। जसरी गर्मी बढ्दै गएपछि अन्य भाइरल रोग हराउँदै जान्छन् कोरोना भाइरस महाव्याधि पनि सेलाउँछ भन्ने उनीहरूले आशा गरेका छन्।

तर अमेरिकाको नेश्नल एकेडेमिक्स अफ साइन्सेस, इन्जिनियरिङ एन्ड मेडिसिन (नासेम) ले ह्वाइट हाउसलाई पठाएको एउटा सार्वजनिक प्रतिवेदनमा धेरै आशा नगर्न लेखिएको छ। विभिन्न अनुसन्धान प्रतिवेदन समीक्षा गरेपछि गर्मीले कोरोना भाइरस फैलिनबाट रोक्न नसक्ने निष्कर्ष निकालिएको छ। सामाजिक दूरी र अन्य उपायले महाव्याधि कम होला तर घाम र आर्द्रताले रोग फैलिनेबाट रोक्ने प्रमाण भेटिएको छैन।

प्रतिवेदन ह्वाइट हाउसको अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसिका निर्देशक तथा नेश्नल साइन्स फाउण्डेसनका कार्यवाहक निर्देशक केल्भिन ड्रोगेमायरलाई पठाइएको छ। ९ पानाको उक्त प्रतिवेदनलाई र्‍यापिङ एक्सपर्ट कन्सल्टेसन भनिन्छ।

Hardik ivf

क्यालिफोर्नियास्थित स्क्रिप्स रिसर्च ट्रान्सलेसनल इन्स्टिट्युटका इम्युनोलोजिस्ट र नेसनल एकेडेमिजको स्ट्यान्डिङ कमिटी अन इमर्जिङ इन्फेक्सियस डिजिजेट एन्ड ट्वेन्टी फर्स्ट सेन्चुरी हेल्थ थ्रेट्सका सदस्य क्रिस्टियन एन्डरसनले भने,“अहिलेको तथ्याङ्क हेर्दा गर्मीले महाव्याधि घट्दैन। यो आशामा नीति र रणनीति बनाउन पनि हुँदैन।”

“गर्मी सुरू हुँदा महाव्याधि फैलिने क्रम सुस्ताएको जस्तो देखिन सक्छ,” उनले भने,“तर बदलिँदो मौसम नभएर अन्य कारणले त्यसो भएको हुनसक्छ।”

मानव व्यवहार सबैभन्दा महत्वपूर्ण हुन्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्यु गर्दा रोग सार्न पर्याप्त भाइरस निकाले तापक्रम र आर्द्रताले खासै फरक नपर्ने स्ट्यान्फोर्ड विश्वविद्यालयका डा. डेभिड रेलमेनले बताए।

थोरै तर नियन्त्रित प्रयोगशालाको अध्ययनले उच्च तापक्रम र आर्द्रताले कोरोना भाइरसलाई वातावरणमा बाँच्ने क्षमता घटाउने देखाएको छ। तर पर्याप्त प्रमाण नभेटिएको नासेमको प्रतिवेदनमा उल्लेख छ।

चिसो स्थानमा महाव्याधि तीव्र वृद्धि भइरहेको केही प्रतिवेदनले देखाए पनि ती सीमित र छोटा थिए। म्यासाच्युसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी (एमआइटी) ले गरेको त्यस्तै एउटा प्रारम्भिक अध्ययनमा न्यानो मौसममा कोभिड १९ थोरै देखिए पनि कुनै निश्चित निष्कर्षमा नपुगिएको पनि प्रतिवेदनमा उल्लेख छ।

“विशेषगरी अमेरिकामा गर्मी महिना पनि कुनै प्रभाव देखिने सम्भावना अत्यन्तै न्यून छ। त्यसैले भाइरस रोक्ने एउटै उपाय क्वारेन्टिन हो,” एमआइटिका वैज्ञानिक तथा अध्ययन प्रतिवेदनका सहलेखक कासिम बोखारीले भने।

ह्वाइट हाउसलाई पठाइएको प्रतिवेदनमा चेतावनी पनि दिइएको छ,“अष्ट्रेलिया र इरानजस्ता गरम देशमा पनि भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यसैले आर्द्रता र तापक्रम बढ्दा संक्रमण घट्छ भन्ने अनुमान गर्नु उचित हुँदैन।”
 

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्