बिआरआइलाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौं : अध्यक्ष दाहाल
‘पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआइले जोड दिएको छ। यो परियोजनामार्फत नेपाल र चीनले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी हुनसक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने।काठमाडौं, असोज ९ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) लाई नेपाल राष्ट्र र जनताको अधिकतम् हितमा सदुपयोग गर्ने सन्दर्भमा गहिरो चिन्तन गर्न जरुरी रहेको बताएका छन्।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)को सहकार्यमा नेपाल–चीनमैत्री युवा संघ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको ‘बिआरआई अवसर र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले उक्त परियोजनालाई नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग जोड्नुपर्ने बताए।
‘पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआइले जोड दिएको छ। यो परियोजनामार्फत नेपाल र चीनले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी हुनसक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने।
अध्यक्ष दाहालले आगामी दिनमा ऊर्जा, सडक, पुल, रेल सम्पर्क विस्तारलगायत ठूला परियोजनामा नेपाल र चीनबीच साझेदारी हुने विश्वास व्यक्त गरे।
बिआरआइबाट दुवै मुलुकले प्रशस्त लाभ लिनसक्ने जनाउँदै उनले त्यसका लागि दुवै पक्षबाट इमान्दारिता, निरन्तर प्रयास र उच्चस्तरको समझदारी आवश्यक रहेकामा जोड दिए।
‘नेपालले पूर्वाधार विकासका क्षेत्रमा बिआरआईमार्फत् सडक, रेलमार्ग, ऊर्जा र सञ्चार पूर्वाधारमा धेरै लगानी पाउन सक्छ। यसबाट नेपालको भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार ल्याउन र व्यापारिक मार्गलाई थप सुलभ बनाउन मद्दत पुर्याउँछ,’ उनले भने।
बिआरआइले पूर्वाधार विकास, व्यापारिक सम्भावना विस्तार र क्षेत्रीय सम्पर्कका नयाँ अवसर प्रदान गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले परियोजना कार्यान्वयनका क्रममा आउने चुनौतीलाई आपसी समझदारी र छलफलबाट समाधान गरेर अघि बढ्नुपर्नेमा जोड र्दिए।
नेपाली जनताको समृद्धिको चाहना पूरा गर्ने उद्देश्यका साथ नेपाल बिआरआइमा सहभागी भएको जनाउँदै उनले आपसी सहयोगका क्षेत्र विस्तार गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन आफूहरू लालायित रहेको स्पष्ट पारे।